मानव उपभोग्य पानी पृथ्वीमा थोरै छ । त्यसको प्राकृतिक विभाजन पनि संसारभर समान छैन । त्यसैले पानीको सदुपयोग, सही र न्यायोचित व्यवस्थापन विश्वकै लागि चुनौती बनेको छ । विश्वमै नेपाल जलस्रोतको दोस्रो धनी मुलुक मानिन्छ । हामीकहाँ मानव उपभोग्य पानीको अथाह स्रोत छ । यही पानी उपयोगको विषयले नेपाल र भारतको सम्बन्धमा ठूलो महत्त्व राख्छ । विगतमा पानीको न्यायोचित बाँडफाँड र उपयोग गर्ने विषयमा नेपाल भारतबाट ठगिएको सर्वत्र जग जाहेर छ । सरकारका लागि अब यो झन् ठूलो चुनौतीको विषय हो ।
भारतको सामरिक उद्देश्य
नेपालको जलस्रोत र नेपालबाट भारततर्फ बग्ने नदीनालाहरूले भारतीय हित र स्वार्थका विषयमा सीधा प्रभाव पार्ने प्रस्ट छ । नेपाली नदीहरूलाई भारतले सामरिक महत्त्वको हिसाबले कसरी हेरिरहेको छ भन्ने बुझ्न हाम्रो राष्ट्रिय हितका लागि अति जरुरी छ ।
नेपाली जलस्रोतको उपयोग हामीले मुख्यतः जलविद्युत् उत्पादन र त्यसको बाइप्रोडक्टको हिसाबले निस्कने सिँचाइलाई मात्र हेरेका छांै । तर यसलाई यत्तिकै सीमित दायराबाट मात्र नहेरी नेपालको बृहत् हित अनुकूल सामरिक सोच विकास गर्नु जरुरी छ ।
भारतको सामरिक दृष्टिकोणको आधारमा पहिलो योजना भनेको, नेपालका ठूला नदीलाई व्यवस्थापन गरी भारतको बिहार, उत्तरप्रदेश र बंगालका अथाह कृषियोग्य भूमिमा सिँंचाइ सुविधा निश्चित गर्नु हो । दोस्रो, नेपालका नदीलाई नियन्त्रण गरी बाढीबाट भारतीय धनजनको सुरक्षा गर्नु हो । नेपाली नदीनालाबाट, खासगरी भारतलाई असर पार्ने नदीहरूबाट उत्पादन हुनसक्ने सम्भाव्य जलविद्युत् भारतको दोस्रो प्राथमिकतामा पर्छ । नेपालको जलविद्युत् खरिद आफ्नो अनुकूल भएमात्र भारतको चासोको विषय हो । कारण, भारतको लागि आवश्यक विद्युतीय ऊर्जाका स्रोत र विकल्प अनेकन छन् । भारत आणविक शक्ति र प्रविधिमा प्रवेश गरिसकेको अवस्थामा छ । भारतका लागि भविष्यमा विद्युत् ऊर्जाको मुख्य स्रोत भनेको आणविक स्रोत नै हो । जलविद्युत्मा मात्र निर्भर भएर भारतको द्रुत र दिगो विकास सम्भव छैन ।
जलविद्युत् योजना लागतको हिसाबले धेरै महँगो हुन्छ । पर्यावरणीयलगायत सामाजिक आर्थिक दृष्टिकोणबाट पनि यो लागत-फाइदाको हिसाबले आणविक ऊर्जाको तुलनामा लाभदायी हुँदैन । विद्युत्का लागि जलविद्युत्को विकल्पमा अरू उपाय पनि छन् । तर सिँचाइ र मानव उपयोग्य जलको विकल्पचाहिँ पानी नै हो र मात्र पानी हो । त्यो पनि समुद्रको नभएर मात्र मुहानको ताजा पानी नै हो । यो नेपालमा छ र भारतलाई यही नै चाहिन्छ । यही सन्दर्भमा अहिले चर्चामा रहेको प्रस्तावित कोसी उच्चबाँध र यससँग जोडिएको बहुआयामबारे विश्लेषण जरुरी छ ।
कोसी उच्चबाँध
१. सामाजिक, आर्थिक र पर्यावरणीय पक्ष
प्रख्यात पाँच धार्मिक क्षेत्रमध्ये बराह क्षेत्रको सिरानमा कोसी उच्चबाँध बन्ने छ । यो बाँध बनेपश्चात् यसको डुबान क्षेत्रको कारण विस्थापित हुने जनसंख्याको उचित व्यवस्थापन हुन सकेन भने बंगलादेशको चितगाउँमा 'काप्ताई बाँध' बनाउँदा 'काप्ताई ताल' को डुबान क्षेत्रबाट विस्थापित हुन पुगेका चितगाउँ हिलट्रयाकका 'चक्मा' र
अन्य जातिद्वारा छापामार युद्ध सुरु गरेजस्तै हामीकहाँ पनि यस्तै युद्ध सुरु हुनसक्छ । दोस्रो, वातावरणीय हिसाबले पुग्ने क्षति, आर्थिक नोक्सानीको सही मूल्यांकन, लेखाजोखा र न्यायोचित मुआब्जाको व्यवस्था पनि हुनैपर्छ ।
२. लाभको न्यायोचित भागबण्डा
कोसी उच्चबाँधको मूल उद्देश्य भनेको भारतको अथाह कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनु र कोसीको बाढी नियन्त्रण गरी भारतीय जनधनलाई क्षति हुनबाट बचाउनु नै हो । यसो गर्दा नेपालले पनि केही सिँचाइ सुविधा पाउने छ । नेपाली भूभागलाई पनि बाढीबाट पुग्ने क्षतिबाट राहत मिल्ने छ । तर भारतलाई पुग्ने लाभको अंशको तुलनामा नेपालले पाउने लाभ नगण्य हुन्छ ।
नेपालको कृषियोग्य जमिन अबका दिनमा घट्नेभन्दा बढ्ने देखिँदैन । कोसी उच्चबाँधबाट सिञ्चित हुनसक्ने पूर्वी र मध्य नेपालको कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने गरी नेपालले आफ्नो अधिकार सुनिश्चित गर्नुपर्छ । यसो गर्दा नेपाललाई पुग्ने सिँचाइ सुविधा दिएर पनि भारतलाई मनग्य लाभ पुग्ने निश्चित छ । बाढी नियन्त्रणको हिसाबले दुवै देश र तेस्रो मुलुक बंगलादेश पनि लाभान्वित हुनेछ । यसैले 'डाउन स्टि्रम राइट' को हिसाबले बंगलादेशलाई समेत सहभागी गराएर त्रिपक्षीय सम्झौता गर्नु उपयुक्त हुन्छ ।
जलविद्युत्को भागबण्डा गर्दा अन्तर्राष्ट्रिय कानुन र मापदण्डको आधारमा नेपालको भूस्वामित्व, प्राकृतिक स्रोतको स्वामित्व, माथिल्लो तटीय अधिकार र फाइदाका आधारमा समान लाभ निश्चित गर्नुपर्छ । योजनाको उद्देश्य र यसबाट भारतलाई हुने प्रत्यक्ष-अप्रत्यक्ष लाभको मूल्यांकन र लेखाजोखा, नेपालमा पर्ने दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय प्रभाव, नेपालले भारतको तुलनामा सिँचाइमा पाउने कम अंश वा प्रतिशतको सोधभर्नालगायत अन्य पक्षलाई समेत समेट्ने गरी मूल्यांकनपश्चात् मात्र नेपाल र भारतबीच विद्युत्को भागबण्डा हुनुपर्छ ।
यो योजना मुख्यतः भारतको लगानीमा बन्ने भए पनि नेपालले पनि केही प्रतिशत लगानी गर्नू अनिवार्य छ । यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो हकहित सुरक्षाका लागि बोल्ने र वार्ता गर्ने आधार सुरक्षित हुन्छ । सकिन्छ भने नेपालको स्वार्थ र हितको सुरक्षार्थ तेस्रो पार्टी वा मुलुकलाई पनि यो योजनामा संलग्न गराउन उपयुक्त हुन्छ । भारतीय दबाब र पार्टी स्वार्थका कारण कुनै पनि पार्टीको सरकारले कोसी उच्चबाँधसम्बन्धी सन्धि सम्झौता गर्दा कोसी र गण्डक बेचे जस्तो गरी सन्धि सम्झौता गर्नु हुँदैन । अरू पार्टीहरूले यसो गर्न दिनु हुँदैन ।
राष्ट्रिय सुरक्षाको मूल्यांकन
कोसी उच्चबाँध बन्दै गर्दा र बने पश्चात् यो परियोजनाको सुरक्षा र परियोजना सञ्चालन एउटा अहं राष्ट्रिय चासोको विषय बन्ने छ । हालको कोसी ब्यारेज नेपाली भूभागमा नै बनेको भए पनि यसको सञ्चालन र सुरक्षा भारतकै हातमा छ । नेपाल सदैव सिँचाइ सुविधाको नाउँमा हिउँदको बेला सुख्खा नहर र वषर्ाको बेला बालुवायुक्त लेदो पानीले भरिएको नहर देख्न र भोग्न बाध्य छ । बाढीको बेला बाँधको ढोका बन्द गरी नेपाली भूमि डुबानमा पर्ने नियति पनि भोग्दै आएको छ । यही कुरा कोसी उच्चबाँधमा पनि नहोला भन्न सकिँदैन । नेपालले भारतसँग बृहत् छलफल गरी बाँधको प्राविधिक सुरक्षा र सञ्चालनमा दुवै पक्षको समान सहभागिता र निर्णयको आधारमा सञ्चालन सम्झौता गर्नु अनिवार्य छ ।
भौतिक सुरक्षाका लागि भारतले आफ्नै सुरक्षा संयन्त्रको तैनाथीमा हर प्रयास गर्ने छ । नेपाली भूमिमा बाँधको सुरक्षार्थ भारतीय सुरक्षा अंग बस्नु भनेको नेपालको सार्वभौमसत्तामा नै दखल दिनु हो । यसमा नेपालले अडान लिनैपर्छ र सार्वभौम नेपालीको स्वाभिमानका लागि कोसी उच्चबाँधको सुरक्षा नेपाली सुरक्षा अंगबाट नै हुनुपर्छ । तर सुरक्षाको दृष्टिकोणबाट सम्भाव्य खतराका कारण भारतले आफ्नो सुरक्षा अंगको तैनाथीमा अडिग रहने धेरै सम्भव छ, कारणः
-क) कोसी उच्चबाँध बनेपछि जलाशयमा जम्मा हुने करोडौं करोड टन पानी 'वाटर बम' को रूपमा भारतलाई सदैव खतरा भइरहने छ ।
-ख) नेपालले कोसी उच्चबाँधको जलाशय र 'च्छो रोल्पा ताल' जस्ता जलाशयलाई 'न्युक्लियर डेटरेन्स' जस्तै 'हाइड्रोबम डेटरेन्स' को रूपमा प्रयोग हुनसक्ने सम्भावनालाई भारतले आँकलन गर्नु उसको सुरक्षाको दृष्टिकोणबाट स्वाभाविक पनि देखिन्छ ।
-ग) कोसी उच्चबाँध फुटेमा यसबाट भारतीय भूमिमा हुनसक्ने विध्वंस कुनै आणविक बमबाट हुने विध्वंसभन्दा कम हुने छैन । त्यसैले पनि भारतले यो बाँधको सुरक्षामा विशेष चासो लिनु स्वाभाविक हुन आउँछ ।
कोसी उच्चबाँध कुनै एउटा विकास परियोजना मात्र हो भनेर निरपेक्ष हिसाबले हेर्न सकिने परियोजना होइन । नेपालको राष्ट्रिय सुरक्षासँग गाँसिएका अहं विषयहरू नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमान कोसी उच्चबाँध परियोजनासँग जोडिन आउँछ । यसैले दुवै देशले साझा हित र स्वार्थको संरक्षणार्थ आ-आफ्ना आर्थिक, सामाजिक, पर्यावरणीय र सुरक्षाको समेत सुनिश्चितता हुने गरी अन्तर्राष्ट्रिय कानुन र मापदण्डको आधारमा न्यायोचित र समानताको सम्झौता गर्नु अनिवार्य छ । सिँचाइ तथा मानव उपभोग्य पानी उत्पादन गर्न सकिँंदैन । भएको ताजापानीको स्रोतलाई व्यवस्थापन गरी मितव्ययी ढंगबाट उच्चतम्प ्रयोगमा ल्याउने बाहेक अन्य विकल्प र उपाय छैन । नेपाल र भारतबीच बेलाबखत सिर्जना हुने असमझदारीलाई दुवै पक्षले सदासयतापूर्वक निवारण गर्ने संयन्त्र र अभ्यास विकास गर्नुपर्छ । दुवै देशले आपसी विश्वासमा जोड दिएर अगाडि बढ्न सके कोसी उच्चबाँधले नेपाल-भारत दुवैको हित हुनेछ । प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो आसन्न भारत भ्रमणमा यस सम्बन्धमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।
Published in 'Kantipur Daily' on 29 July 2009

